सुनको भाउ तोलामा २७ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुनको भाउ तोलामा २७ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

काठमाडौ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा झरेको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको थियो। बुधबार भने सोही मूल्यमा कारोबार भएको थियो।

पछिल्ला दिनमा सुनको मूल्यमा उतारचढाव देखिएको छ। गत शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार र सोमबार गरी ५ हजार २ सय रुपैयाँले बढेको थियो। यस्तै, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ।

महासंघका अनुसार चाँदी तोलामा १६० रुपैयाँ घटेर ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको थियो। नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। त्यस दिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको हालसम्मकै उच्च मूल्य पनि गत माघ १५ गते नै कायम भएको थियो। उक्त दिन चाँदीको मूल्य तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। गत माघ १८ गते भने चाँदीको मूल्यमा एकैदिन तोलामा १ हजार ५ सय ६५ रुपैयाँको गिरावट आएको थियो।