कोलकाताको होटलमा भीषण आगलागी, एक बालकसहित ९ जनाको मृत्यु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कोलकाताको होटलमा भीषण आगलागी, एक बालकसहित ९ जनाको मृत्यु

काठमाडौ । भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा बुधबार बिहान भएको भीषण आगलागीमा एक बालकसहित कम्तीमा ९ जनाको मृत्यु भएको छ।

अस्पताल स्रोतका अनुसार आगलागीपछि निसासिएर उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन्। उनीहरूको एसएसकेएम मेडिकल कलेजमा उपचार भइरहेको छ। समाचार एजेन्सी एएनआईका अनुसार मृतकमध्ये उपचारका लागि कोलकाता आएका केही बंगलादेशी नागरिक पनि रहेको बताइएको छ।

यद्यपि प्रहरीले अहिलेसम्म मृतकहरूको औपचारिक पहिचान सार्वजनिक गरेको छैन। प्रहरीका अनुसार बुधबार बिहान करिब २ बजे होटलको तेस्रो तलाबाट आगो लागेको थियो। केही समयमै आगो आसपासका भवनतर्फ समेत फैलिएको थियो।

आगलागीको सूचना पाएलगत्तै नयाँ बजार प्रहरी चौकीका प्रहरी तथा दमकल टोली घटनास्थलमा पुगेका थिए। दमकलकर्मीले होटलभित्र फसेका व्यक्तिको उद्धार गरेका थिए। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन्। यद्यपि आगलागीको वास्तविक कारण अनुसन्धानपछि मात्र पुष्टि हुने जनाइएको छ।

घटनाबारे प्रहरीले होटलका प्रबन्धकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। होटलको सुरक्षा व्यवस्था तथा आगलागी नियन्त्रणसम्बन्धी प्रबन्धबारे समेत अनुसन्धान भइरहेको बताइएको छ। पश्चिम बंगालमा पछिल्ला दिनमा होटलमा आगलागीका घटना दोहोरिएका छन्। सोमबार वीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा भएको आगलागीमा पनि ९ जनाको मृत्यु भएको थियो।