कांग्रेसको १५औँ महाधिवेशन रोक्न संस्थापन इतर समूह सर्वोच्च जाने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेसको १५औँ महाधिवेशन रोक्न संस्थापन इतर समूह सर्वोच्च जाने

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन सम्बन्धी प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।

पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर सार्वजनिक गरेको भन्दै इतर समूहले कानुनी उपचार खोज्ने निर्णय गरेको हो।

संस्थापन इतर समूहका नेता डा. प्रकाशशरण महतले अदालतले आधिकारिकता विवादलाई पुनः सुरुदेखि हेर्न अनुमति दिइसकेको अवस्थामा महाधिवेशनको प्रक्रिया अघि बढाउनु उचित नभएको बताए। उनले अदालतको आदेशपछि पनि महाधिवेशन प्रक्रिया अघि बढाइनु कानुनी प्रक्रियाको सम्मानविपरीत भएको दाबी गरे।

महतले कांग्रेसलाई वैधानिक बाटोमा अघि बढाउनुको सट्टा संस्थापन पक्षले निषेधको राजनीति गर्न खोजेको आरोपसमेत लगाए। यसअघि संस्थापन इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले साउन २६ गते निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै सर्वोच्चको अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गरेका थिए।

कोइरालाले पठाएको पत्रमा अदालतको गरिमा र कानुनी प्रक्रियालाई सम्मान गर्दै पार्टीका सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा कायम राख्न माग गरिएको थियो। साथै, दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत तथा आर्थिक निर्णय नगर्नसमेत आग्रह गरिएको थियो।

सर्वोच्च अदालतले गत साउन २१ गते कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा पुनरावलोकनका लागि अनुमति दिएको थियो। यससँगै कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनः सुरुदेखि सुनुवाइ हुने बाटो खुलेको छ।

यही कानुनी जटिलताबीच कांग्रेसले मंगलबार महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेपछि संस्थापन इतर समूह थप असन्तुष्ट बनेको हो। इतर समूहले गठन गरेको नेता रमेश लेखक संयोजक रहेको कानुन तथा विधान समितिले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अबको एक–दुई दिनभित्र सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको नेताहरूले बताएका छन्।