संसदमा मर्यादित प्रस्तुति दिन रास्वपा सभापति लामिछानेको सांसद र मन्त्रीलाई निर्देशन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of संसदमा मर्यादित प्रस्तुति दिन रास्वपा सभापति लामिछानेको सांसद र मन्त्रीलाई निर्देशन

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्री तथा सांसदको कार्यशैली र संसदमा प्रस्तुत हुने शैलीबारे आन्तरिक छलफल गरेको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा संसदमा सांसद तथा मन्त्रीहरूले अपनाउनुपर्ने व्यवहार, भाषा र प्रस्तुतीकरणबारे चर्चा भएको हो।

पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको तथा आफ्ना माग सम्बोधन नभएपछि सांसदहरूले पनि रुखो वा अमर्यादित व्यवहार देखाउने गरेको भन्दै आलोचना हुँदै आएको छ। यही पृष्ठभूमिमा रास्वपाले आफ्ना सांसदसँग छलफल गरेको हो।

बैठकमा जनताका समस्या र सरोकारका विषयलाई संसदमा प्रभावकारी, तथ्यपरक तथा मर्यादित ढंगले कसरी उठाउने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार, संयमित र प्रभावकारी बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएको बताइएको छ।

रास्वपाका केही सांसदले संसदीय समिति तथा संसदका बैठकमा असन्तुष्टि व्यक्त गर्दा प्रस्तुतीकरणको शैली सन्तुलित हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ। उक्त विषयलाई समेत ध्यानमा राख्दै लामिछानेले सांसदहरूलाई आफ्नो व्यवहार र अभिव्यक्तिमा सुधार ल्याउन निर्देशन दिएको जनाइएको छ।

पार्टी नेतृत्वले संसदमा जनताका मुद्दा उठाउँदा आक्रोशभन्दा तथ्य, तर्क र मर्यादित प्रस्तुतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।