सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोप, दुई जना पक्राउ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोप, दुई जना पक्राउ

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले बलात्कारपछि हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

प्रहरीका अनुसार साउन ३१ गते बिहान घरबाट हराएकी बालिका मंगलबार साँझ भक्तिनगरस्थित वीरबहादुर रोकाको घरको खाली कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा मृतक बालिका दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको हो।

प्रारम्भिक अनुसन्धानमा बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई घटनास्थलमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक जितपुरसिमरा–२ निवासी करिब १६ वर्षीय सुमन थापा र म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजी तथा अनुसन्धान तीव्र बनाएको थियो। इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको नेतृत्वमा समेत थप टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनाको विस्तृत अनुसन्धानपछि मात्रै घटनाको सम्पूर्ण तथ्य र संलग्न व्यक्तिहरूको भूमिकाबारे थप स्पष्ट हुने प्रहरीले जनाएको छ।