बागमतीमा नयाँ सरकार गठनका लागि एमाले–नेकपाको राप्रपासँग संवाद
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल अघि बढाएका छन्।
एमाले र नेकपाबीच सत्ता समीकरण बने पनि बहुमतका लागि आवश्यक सांसद संख्या नपुगेपछि राप्रपाको समर्थन जुटाउन दुवै दलले पहल थालेका हुन्। ११० सदस्यीय बागमती प्रदेश सभामा हाल ६ पद रिक्त रहेकाले १०४ सांसद कायम छन्।
सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदूर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।
एमालेका २५ र नेकपाका २६ सांसद जोड्दा ५१ मात्र पुग्छ। बहुमतका लागि थप दुई सांसद आवश्यक पर्ने भएकाले नयाँ सरकार गठनमा राप्रपाको भूमिका निर्णायक बनेको छ। राप्रपाका १२ सांसदको समर्थन पाए एमाले–नेकपा पक्षमा ६३ सांसद पुग्नेछन्।
राप्रपाले भने तत्काल प्रदेश सरकारमा सहभागी नहुने अडान राख्दै आएको छ। तर सरकार गठनका लागि बाहिरबाट समर्थन गर्ने सम्भावनाबारे छलफल भइरहेको राप्रपाका एक सांसदले बताएका छन्। उनका अनुसार एमाले र नेकपाका नेतासँग यस विषयमा संवाद जारी छ। वार्तामा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा सहभागी छन्।
यसैबीच एमालेले बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा किरण थापालाई अघि सार्ने निर्णय गरिसकेको छ। मंगलबार बसेको एमाले संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।
राप्रपाले समर्थन गरेमा बिहीबार नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी रहेको एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले जनाएको छ। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। विश्वासको मत लिने प्रक्रिया अघि बढिरहेका बेला बानियाँले राजीनामा दिएका थिए।
त्यसपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्। दाबी पेस गर्ने समय बिहीबार अपराह्न ४ बजेसम्म तोकिएको छ।







