रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ।
संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार आवश्यकताअनुसार विधान संशोधन तथा नयाँ कार्यविधि तयार गर्न कार्यदल बनाइएको हो। मुख्य सचेतकको नेतृत्वमा गठन गरिएको कार्यदलले आगामी सात दिनभित्र संसदीय दलको विधानमा आवश्यक संशोधन प्रस्ताव तयार गर्नेछ।
रास्वपाले बुधबार पार्टीका सांसद तथा मन्त्रीहरूको संसदीय भूमिका र प्रस्तुतिबारे छलफल गरेपछि विधान संशोधनको प्रक्रिया अघि बढाएको हो। पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा संसदमा सांसद तथा मन्त्रीहरूले अपनाउनुपर्ने मर्यादा, व्यवहार र शैलीबारे समीक्षा गरिएको थियो।
उपनेता पराजुलीका अनुसार संशोधित विधान तथा कार्यविधिमा सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, आफ्नो जिम्मेवारीप्रतिको जवाफदेहिता, विपक्षीका आवाज तथा कानुन निर्माण प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयलाई प्राथमिकता दिइनेछ।
पछिल्लो समय संसद तथा संसदीय समितिमा रास्वपाका सांसदहरूको प्रस्तुति र व्यवहारलाई लिएर विभिन्न टिप्पणी हुँदै आएका बेला पार्टीले संसदीय अभ्यासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विधानमै आवश्यक व्यवस्था गर्न लागेको हो।







