बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी, एमाले–नेकपा–राप्रपाको समर्थन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दाबी पेस गरेका छन्।
एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा थापाले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। सत्ता गठबन्धनबीचको भागबन्डाअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो।
सोहीअनुसार एमाले संसदीय दलले मंगलबार थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो। १०४ सदस्य कायम रहेको बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थन रहेको दाबी पेस गरेका छन्।
यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
दाबी पेस गर्ने समय भदौ ४ गते अपराह्न ४ बजेसम्म तोकिएको भए पनि एमाले–नेकपा गठबन्धनले राप्रपाको समर्थन जुटाएपछि थापाले बुधबार नै दाबी पेस गरेका हुन्। राप्रपाको समर्थनसँगै एमाले–नेकपा गठबन्धनलाई आवश्यक बहुमतभन्दा १० सांसद बढीको समर्थन जुटेको छ।
अब प्रदेश प्रमुखले संवैधानिक प्रक्रियाअनुसार थापालाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।







