सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा मुख्यमन्त्री भट्टले स्पष्ट बहुमत हासिल गरेका हुन्। प्रदेशसभा सचिवालयका अनुसार बैठकमा ४६ जना प्रदेश सांसद सहभागी रहेकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको छ।

प्रदेशसभामा सरकारको नेतृत्व गरिरहेको नेकपाका २० र नेकपा एमालेका ११ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका छन्। यसैगरी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसदले विपक्षमा मतदान गरेका छन् भने कांग्रेसका ३ जना सांसद भने बैठकमा अनुपस्थित रहेका थिए।

नेकपा संसदीय दलका नेता भट्ट गत साउन २९ गते सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रको राजनीतिक समीकरण फेरबदल भएपछि एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमति बनेको थियो। सोही राजनीतिक फेरबदलका कारण अल्पमतमा परेका नेपाली कांग्रेसका तर्फबाट तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो।

विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री भट्टलाई मन्त्रिपरिषद् विस्तार गर्ने बाटो खुल्ला भएको छ।