बागमतीमा राप्रपा विवाद चर्कियो, उद्धव थापामाथि कारबाहीको तयारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बागमतीमा राप्रपा विवाद चर्कियो, उद्धव थापामाथि कारबाहीको तयारी

काठमाडौ । बागमती प्रदेशमा नयाँ सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र विवाद चर्किएको छ।

पार्टीको केन्द्रीय निर्णयविपरीत सरकार गठनमा समर्थन गरेको आरोपमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि अनुशासनको कारबाही प्रक्रिया अघि बढाइएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।

लिङ्देनले पार्टीले बागमती प्रदेशमा कुनै पनि दललाई सरकार गठनका लागि समर्थन गर्ने निर्णय नगरेको स्पष्ट पारेका छन्। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन राप्रपाको तर्फबाट बुझाइएको समर्थनपत्र पार्टीको आधिकारिक निर्णयविपरीत भएको भन्दै प्रदेश प्रमुखलाई समेत जानकारी गराइएको उनले बताएका छन्।

राप्रपाले यसअघि नै केन्द्रको निर्देशनबिना प्रदेश सरकारमा सहभागी नहुन आफ्ना प्रदेश सांसदलाई निर्देशन दिएको थियो। पार्टीले प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल सहभागी नहुने नीति लिएको बताइएको छ।

यसैबीच एमाले र नेकपाको समर्थनमा किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने प्रयास भइरहेको छ। तर सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप दलको समर्थन आवश्यक पर्ने भएकाले बागमतीको सत्ता समीकरण अझै निर्णायक अवस्थामा पुगेको छैन। बागमती प्रदेशसभामा राप्रपाका सांसदको संख्या महत्वपूर्ण रहेकाले उसको निर्णयले नयाँ सरकार गठनको अंकगणितमा ठूलो प्रभाव पार्ने देखिन्छ। 

राप्रपा अध्यक्षको पछिल्लो अभिव्यक्तिपछि भने प्रदेश संसदीय दलको निर्णय र पार्टी केन्द्रको निर्देशनबीचको विवाद थप सतहमा आएको छ।