राष्ट्रपति बन्ने कुनै लोभ छैन : बाबुराम भट्टराई
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई राष्ट्रपति पदमा कुनै रुचि वा लोभ नरहेको स्पष्ट पारेका छन्।
गृह जिल्ला गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू कार्यकारी प्रधानमन्त्री भइसकेको व्यक्ति भएकाले अहिलेको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति बन्ने चाहना नरहेको बताएका हुन्।
भट्टराईले आफू लामो समयदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको बताए। अहिलेको व्यवस्थामा राष्ट्रपतिको भूमिका सीमित रहेको उल्लेख गर्दै उनले त्यसलाई ‘खोपीको देउता’सँग तुलना गरे।
उनले नयाँ पुस्ता र नयाँ राजनीतिक शक्तिको पक्षमा आफूले आवाज उठाउँदा त्यसलाई पदको आकांक्षासँग जोडेर हेर्न नहुने बताए। ‘म त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने पक्षको मानिस हुँ,’ भट्टराईले भने, ‘कार्यकारी प्रधानमन्त्री भइसकेको मान्छेले राष्ट्रपतिमा लोभ गर्ने कुरा हुँदैन।’
आफूले राजनीतिक तथा सामाजिक विषयमा धारणा राख्दा हरेक पटक कुनै न कुनै पद खोजेको आरोप लाग्ने गरेको पनि उनले स्मरण गरे। विगतमा मेयर, पुनर्निर्माण प्राधिकरणको प्रमुख तथा बूढीगण्डकी आयोजना प्रमुख बन्न खोजेको भन्दै आलोचना गरिएको प्रसंग उल्लेख गर्दै भट्टराईले विचार राख्नु र पद खोज्नु फरक कुरा भएको बताए।
‘कुनै पनि विषयमा विचार दिँदैमा त्यसबारे पद खोजेको हुँदैन भन्ने बुझ्नुपर्छ,’ उनले भने। भट्टराईले आफूले नयाँ पुस्तालाई अगाडि बढाउन र राजनीतिक परिवर्तनका विषयमा विचार प्रस्तुत गरिरहेको भन्दै आफ्ना धारणालाई व्यक्तिगत पदको आकांक्षासँग जोडेर नहेर्न आग्रह गरे।







