प्रधानमन्त्री बालेन शाहसँग र मेरो सम्बन्धमा कुनै समस्या छैनः रवि लामिछाने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफू र प्रधानमन्त्री शाहबीच सम्बन्ध बिग्रिएको भन्ने समाचारहरू बेलाबेलामा आउने गरेको भए पनि त्यस्ता समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारे। ‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन,’ लामिछानेले भने।
केही समयअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफू ‘एक्लो’ महसुस गरिरहेको आशयको अभिव्यक्ति दिएको विषयमा सञ्चारकर्मीले प्रश्न गरेका थिए। जवाफमा लामिछानेले शाहको उक्त अभिव्यक्तिलाई राजनीतिक अर्थमा मात्रै बुझ्न नहुने बताए।
‘प्रधानमन्त्रीले लेख्नुभएको विषय, उहाँ त एउटा कवि पनि हो । उहाँ एउटा कलाकार पनि हो,’ लामिछानेले भने, ‘आज यत्रो भिडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ र ? हरेक शब्दका अर्थ खोज्न थालियो भने त्यसको राजनीतिक अर्थ भन्ने हुँदैन।’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर आफूहरूबीच कुनै समस्या वा असमझदारी नरहेको लामिछानेको भनाइ छ। पछिल्लो समय दुई नेताबीच सम्बन्धमा चिसोपना आएको चर्चा भइरहेका बेला लामिछानेको यस्तो धारणा सार्वजनिक भएको हो।







