प्रवासी नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको अधिकार दिन रास्वपाको माग

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रवासी नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको अधिकार दिन रास्वपाको माग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले रोजगारी तथा अन्य सिलसिलामा विदेशमा रहेका नेपालीलाई पनि निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने बताएका हुन्। उनले प्रवासमा रहेका नेपालीको सहभागिता सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक तयारी तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराए।

‘हामी चाहन्छौँ, यो पटकको स्थानीय तहको निर्वाचनमा संसारभरका प्रवासी नेपालीहरूले भोट हाल्न पाऊन्,’ आचार्यले भने, ‘त्यसका लागि जे–जे कानुनी कामहरू गर्नुपर्नेछ, त्यसको सुरु गरौँ।’ विदेशबाट मतदान गराउने विषयमा प्राविधिक चुनौती रहे पनि त्यसलाई कारण देखाएर प्रक्रिया अघि नबढाउन नहुने उनको भनाइ छ। उनले प्रवासमा रहेका नेपालीको आर्थिक योगदान स्वीकार गर्ने तर राजनीतिक अधिकारबाट वञ्चित गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।

‘हामीले भन्ने गरेका छौँ—नोट चल्ने, भोट नचल्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ,’ आचार्यले भने।

रास्वपाले आगामी स्थानीय तहको निर्वाचनमा विश्वभर रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको उनले बताए। त्यसका लागि आवश्यक कानुनी, प्रशासनिक र प्राविधिक तयारी आजैदेखि अघि बढाउन उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

आचार्यका अनुसार हाल करिब ४० लाख नेपाली नागरिक विदेशमा रहेका छन्। उनीहरूलाई मतदानको अधिकार प्रदान गर्न सके निर्वाचनमा ठूलो संख्यामा प्रवासी नेपालीको सहभागिता सुनिश्चित हुने रास्वपाको धारणा छ।