बालेन नेतृत्वको सरकारमाथि एमाले नेता बादलको आरोप, ‘राष्ट्रियता र लोकतन्त्रमाथि गम्भीर संकट’

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बालेन नेतृत्वको सरकारमाथि एमाले नेता बादलको आरोप, ‘राष्ट्रियता र लोकतन्त्रमाथि गम्भीर संकट’

काठमाडौ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बालेन शाह नेतृत्वको वर्तमान सरकारको छोटो कार्यकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकारको विदेश नीति तथा राष्ट्रिय सुरक्षा रणनीतिमा गम्भीर विचलन देखिएको दाबी गरे। उनले पछिल्ला गतिविधिले नेपालको राष्ट्रिय हित र सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाएको बताए।

थापाले तिब्बती मामिला तथा पश्चिमी कूटनीतिज्ञहरूसँग सम्बन्धित गतिविधिलाई लिएर सरकारको आलोचना गरे। उनका अनुसार दलाई लामाको जन्मोत्सव मनाउने नाममा नेपालमा राजनीतिक गतिविधिका लागि वातावरण बनाइएको छ।

उनले गत भदौमा भएको सत्ता परिवर्तनका क्रममा दलाई लामाबाट बधाई तथा शुभकामना आएको र तिब्बती पक्षसँग सम्बन्धित संस्थाहरूको भूमिकामाथि समेत प्रश्न उठेको दाबी गरे। उक्त घटनाप्रति चीनले गम्भीर चासो र चेतावनी व्यक्त गरेको उनको भनाइ थियो।

चीनको आपत्तिपछि नेपालमा आयोजना गर्ने भनिएको एक अन्तर्राष्ट्रिय सम्मेलनसमेत स्थगित भएको थापाले जिकिर गरे। थापाले नेपालमा रहेका तिब्बती शरणार्थी तथा गुम्बाहरूको गतिविधिलाई लिएर समेत गम्भीर प्रश्न उठाएका छन्।

केही शोधकर्ताले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति तथा सामग्री जम्मा भइरहेको दाबी गरेको र भदौमा लुटिएका हतियारसमेत त्यहाँ लुकाइएको हुनसक्ने आशंका गरेको उनले उल्लेख गरे।नेपालले निर्वासित तिब्बतीलाई मानवीय आधारमा शरण दिएको तर उनीहरूलाई राजनीतिक शरणार्थीको मान्यता नदिएको स्मरण गराउँदै थापाले सरकारलाई राष्ट्रिय सुरक्षा र संवेदनशील कूटनीतिक विषयमा थप गम्भीर बन्न आग्रह गरे।

उनको अभिव्यक्तिले बालेन शाह नेतृत्वको सरकारको विदेश नीति, चीनसँगको सम्बन्ध तथा राष्ट्रिय सुरक्षा रणनीतिलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक बहस थप चर्किने संकेत गरेको छ।