प्रधानमन्त्री बालेन शाह र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रधानमन्त्री बालेन शाह र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता र निर्धारित लक्ष्य हासिल गर्न मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौतापत्र आदानप्रदान गरेका हुन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित मुख्य काम तथा अपेक्षित उपलब्धिलाई प्राथमिकतामा राखिएको छ।

मन्त्रीहरूले चालु आर्थिक वर्षमा आफ्नो मन्त्रालयबाट सम्पन्न गर्ने प्रमुख कार्य र हासिल गर्ने परिणामका आधारमा कार्यसम्पादन सम्झौता गरिएको जनाइएको छ। दसरकारले मन्त्रालयगत कामलाई थप प्रभावकारी, परिणाममुखी र जवाफदेही बनाउन कार्यसम्पादन सम्झौताको व्यवस्था अघि बढाएको हो। सम्झौतामा उल्लेखित लक्ष्यअनुसार मन्त्रीहरूको कामको मूल्यांकन गर्ने आधारसमेत तयार हुने बताइएको छ।

यसैबीच प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्। प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच भएको सम्झौताले सरकारको वार्षिक कार्ययोजनालाई समयमै कार्यान्वयन गर्ने तथा मन्त्रालयहरूको काममा जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।