नौ वटा संसदीय समितिको बैठक वस्दै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । संघीय संसद्का नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ।
प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ भने राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने भएकाले आज एकैपटक धेरै समितिका बैठक बस्न लागेका हुन्।
बिहीबार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’का विषयमा होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायसँग छलफल गरिनेछ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री–वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा कमी नआउने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गरिनेछ। बैठक बिहान १० बजे बस्नेछ।
पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल हुनेछ। बैठक बिहान १० बजे बस्नेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
सार्वजनिक लेखा समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका विषयमा छलफल गरिनेछ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम रहेको छ।







