इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

अमेरिका र इरानबीच पाँच महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका छन्।

बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक कारबाही घोषणा गर्ने चेतावनी दिएका हुन्। उनले इरानले सम्झौता गर्ने अवसर लिन असफल भएको भन्दै अब उसले कठोर आर्थिक दबाब र अन्तर्राष्ट्रिय एक्लोपनको सामना गर्नुपर्ने बताएका छन्।

ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। उनका अनुसार कुनै देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग गरेमा ती देशले समेत ठूलो आर्थिक परिणाम भोग्नुपर्नेछ।

उनले इरानसँग जोडिएको तेल तस्करी, स्वाप कारोबार, नगद हस्तान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा अग्रिम कम्पनीमार्फत हुने कारोबार तत्काल रोक्नुपर्ने बताएका छन्।

ट्रम्पले इरानबाट उत्पन्न खतरा हटाउन र इरानलाई परास्त गर्न अमेरिकाका सबै सहयोगी देशले अमेरिकाको साथमा उभिनुपर्ने बताएका छन्। इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी भने नयाँ होइन।

अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा विभिन्न प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो चेतावनीले भने इरानसँग व्यापार गर्ने तेस्रो देशलाई समेत अमेरिकी प्रतिबन्धको दायरामा ल्याउने संकेत गरेको छ।