राप्रपा बागमतीमा चर्कियो विवाद, दलका नेता थापाविरुद्ध अविश्वास प्रस्ताव
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलमा विवाद चर्किएको छ।
संसदीय दलका नेता उद्धव थापाले पार्टी र संसदीय दलको निर्णयविपरीत नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएपछि विवाद चुलिएको हो।
विवादकै बीच संसदीय दलका बहुमत सदस्यले थापाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएको पत्रमा थापाले संसदीय दलको बैठक नै नबसी व्यक्तिगत लेटरप्याड प्रयोग गरेर मुख्यमन्त्रीमा समर्थन जनाएको उल्लेख गरेकी छन्।
पार्टीको निर्णय र बृहत्तर हितविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै थापाविरुद्ध भदौ १ गते बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको जानकारीसमेत प्रदेश प्रमुखलाई गराइएको छ।
व्यक्तिगत लेटरप्याडमा समर्थन
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले साउन २० गते बागमती प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार प्रदेश संसदीय दललाई सरकार गठनसम्बन्धी छलफलमा सहभागी नहुन र कुनै दललाई समर्थन नगर्न निर्देशन दिइएको थियो।
तर, उक्त निर्णयविपरीत दलका नेता थापाले संसदीय दलको औपचारिक बैठकसमेत नबसी व्यक्तिगत लेटरप्याड प्रयोग गरेर एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरेको प्रमुख सचेतक तामाङको आरोप छ।
समर्थन पत्रबारे सञ्चारमाध्यमबाट जानकारी पाएपछि आफूहरू आश्चर्यचकित भएको पनि तामाङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा उल्लेख गरेकी छन्।
राप्रपा संसदीय दलले साउन २१ गते गरेको निर्णयसमेत पत्रमा स्मरण गराइएको छ। उक्त बैठकको अध्यक्षता दलका नेता उद्धव थापाले नै गरेका थिए। बैठकले बागमती प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुने र कुनै दललाई समर्थन नगर्ने निर्णय गरेको दाबी गरिएको छ।
उक्त निर्णयको माइन्युटसमेत प्रदेश प्रमुखलाई पठाइएको तामाङले उल्लेख गरेकी छन्। संसदीय दलको बैठकबाटै सरकार गठनमा सहभागी नहुने निर्णय भएको अवस्थामा दलका नेताले त्यसको विपरीत व्यक्तिगत लेटरप्याडमा समर्थन पत्र बुझाएपछि राप्रपा बागमतीभित्र विवाद थप चर्किएको हो।
अब विवाद सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मात्र सीमित नरही संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमाथि विश्वासको प्रश्नसमेत बनेको छ।







