बागमतीमा नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा, आजै मन्त्रीहरूको शपथ ग्रहण

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बागमतीमा नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा, आजै मन्त्रीहरूको शपथ ग्रहण

काठमाडौ । बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ।

यसैबीच सरकारमा जाने तयारी गरेका नेताहरूले आज अपराह्न मन्त्रीहरूको शपथग्रहण हुने बताएका छन्। बागमती प्रदेशमा नयाँ सरकारका लागि दलहरूबीच मन्त्रालयको जिम्मेवारी बाँडफाँट भएको छ।

सहमति अनुसार एमालेले मुख्यमन्त्रीसहित ३ मन्त्रालय, नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुख सहित २ मन्त्रालय र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ मन्त्रालय पाउने भएका छन्। आन्तरिक विवादका बाबजुद सरकारलाई समर्थन गरेको पक्षबाट राप्रपाका तर्फबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी गरिएको छ।

उनीहरूले सम्हाल्ने मन्त्रालयहरूसमेत टुंगो लागिसकेको छ। मन्त्री बन्ने तयारीमा रहेका प्रदेशसभा सदस्य राजु विष्टले शपथग्रहण आज अपराह्न ४ बजेका लागि तय भएको जानकारी दिएका छन्। उनले संसदीय दलको निर्णयअनुसार नै सरकारलाई समर्थन गरिएको बताएका छन्।

यसअघि राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्रीका दाबेदार किरण थापामगरलाई समर्थन रहेको पत्र पठाएका थिए। तर, राप्रपा प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुखसमक्ष पत्र पठाउँदै उक्त समर्थन अनधिकृत भएको जिकिर गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।

पार्टीको केन्द्रीय नीतिविपरीत काम गरेको भन्दै दलका नेता थापालाई स्पष्टीकरण सोधिएको र कारबाहीको तयारी भइरहेको स्रोतले जनाएको छ। यता राप्रपा केन्द्रीय नेतृत्वले भने व्यक्तिगत रूपमा दिइएको समर्थन दलको हुन नस्कने भन्दै बागमती प्रदेश सरकार गठनमा पार्टीको आधिकारिक समर्थन नरहेको सार्वजनिक रूपमा स्पष्ट पारेको छ।

पार्टीभित्रको यो विवाद र स्पष्टीकरणको प्रक्रिया चलिरहे पनि शपथग्रहण कार्यक्रम नरोकिने नेताहरूको दाबी रहेको छ।