शंकर पोखरेलको चेतावनी : ‘रवि–बालेन समूहले धुर्मुस–सुन्तलीकै नियति भोग्न सक्छ’
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ राजनीतिक शक्तिले कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण सुरु गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जस्तै नियति भोग्न सक्ने चेतावनी दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले ठूलो परियोजना स्पष्ट आर्थिक स्रोत र दीर्घकालीन योजनाबिना अघि बढाउँदा संकट निम्तिन सक्ने उदाहरणका रूपमा धुर्मुस–सुन्तलीको रंगशाला परियोजनालाई प्रस्तुत गरेका हुन्।
उनले धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यमा निर्भर रहेर ठूलो परियोजना अघि बढाउनु अपरिपक्व निर्णय भएको टिप्पणी गरेका छन्। रकम अभाव र बढ्दो उधारोका कारण परियोजना संकटमा परेको उनको दाबी छ। पोखरेलले यही उदाहरणलाई अहिलेको नयाँ राजनीतिक नेतृत्वसँग जोड्दै रास्वपाका रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई संकेत गर्दै राजनीतिक लोकप्रियतामात्रै राज्य सञ्चालनका लागि पर्याप्त नहुने बताएका छन्।
उनका अनुसार राजनीति लामो संघर्ष, समर्पण तथा राज्य सञ्चालनको कला र विज्ञानसँग जोडिएको विषय हो। डिजिटल लोकप्रियता र सामाजिक सञ्जालको प्रभावका आधारमा मात्रै सरकार सञ्चालन गर्न खोज्दा मुलुकमा अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट बढ्न सक्ने उनको चेतावनी छ। पोखरेलले स्पष्ट योजना र दूरदर्शिताबिना राज्यसत्ता सञ्चालन गरिए नयाँ राजनीतिक नेतृत्वले पनि धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
उनको टिप्पणी सार्वजनिक भएकै दिन धुर्मुसले पनि सरकारप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा आफ्नो आवाज सरकारले नसुनेको गुनासो गरेका थिए। त्यसपछि पोखरेलको अभिव्यक्तिलाई धुर्मुस–सुन्तलीको रंगशाला परियोजना र वर्तमान राजनीतिक परिस्थितिबीचको सम्बन्धका रूपमा हेरिएको छ।
पोखरेलको यो टिप्पणीसँगै नयाँ राजनीतिक नेतृत्वप्रति एमालेको आलोचना थप तीव्र भएको देखिएको छ। उनले वर्तमान सरकारको कार्यशैली, आर्थिक व्यवस्थापन र राज्य सञ्चालनको दृष्टिकोणमाथि प्रश्न उठाउँदै समयमै सचेत हुन नयाँ राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन्।







