सांसद सुनारको आरोप : ‘निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सांसद सुनारको आरोप : ‘निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले नेपाल प्रहरीको हेडक्वार्टर नै कब्जा गरेको आरोप लगाएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरीभित्र स्रोत–साधन खरिदमा अनियमितता भएको आफ्नो दाबी दोहोर्‍याउँदै त्यसबारे छानबिन गर्नुपर्ने बताएका हुन्। सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

उनले प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी कागजात समितिले माग गरेको भए पनि त्यसको अवस्था स्पष्ट हुनुपर्ने धारणा राखे। उनका अनुसार सार्वजनिक लेखा समितिले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदमा भएका भनिएका अनियमिततासम्बन्धी कागजात उपलब्ध गराउन भनेको थियो। तर त्यसबीचमै प्रहरीले करोडौँ रुपैयाँ बराबरको टेन्डर आह्वान गरेको भन्दै उनले प्रश्न उठाए।

‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने।

सुनारले आफूले उठाएका प्रश्नका कारण कसैको मानमर्दन भएको महसुस भए कानुनी बाटो रोज्नसमेत चुनौती दिए। आफू अदालतमा जवाफ दिन तयार रहेको उनको भनाइ छ। ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला,’ उनले भने, ‘कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु।’

सार्वजनिक लेखा समितिजस्तो सार्वभौम निकायको बैठकमा व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रिन नहुने भन्दै उनले समितिको गरिमालाई कायम राख्नुपर्नेमा जोड दिए। प्रहरीको खरिद प्रक्रिया, टेन्डर आह्वान तथा स्रोत–साधन व्यवस्थापनमा उठेका प्रश्नलाई समितिले गम्भीरतापूर्वक लिनुपर्ने उनको माग छ। प्रहरी नेतृत्वमाथि समेत प्रश्न उठेकाले आवश्यक कागजात मगाएर तथ्यका आधारमा छानबिन गर्नुपर्ने सुनारको धारणा छ।