प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी धाउनु हुँदैनः अमरेश सिंह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री मातहतको संस्था नभएको भन्दै प्रधानमन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी भेट्न जान नहुने बताएका छन्।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियारका पदाधिकारीको कार्यशैलीका कारण आयोगले आफ्नो संवैधानिक दायित्व प्रभावकारी रूपमा पूरा गर्न नसकेको आरोप लगाए।
उनले अख्तियारको संस्थागत मर्यादा कमजोर हुँदै गएको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। उनका अनुसार अख्तियारका पदाधिकारी संसदीय समितिमा उपस्थित भएर जवाफ दिन सक्ने भए पनि कार्यपालिकाको प्रभावमा पर्ने गरी गतिविधि गर्न नहुने हो।
‘अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। त्यसैले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन,’ सिंहले भने।
उनले न्यायालय र अख्तियारजस्ता संवैधानिक निकायसमेत बिचौलिया उत्पादन गर्ने संस्था बन्न पुगेको आरोप लगाए। संवैधानिक निकायमा राजनीतिक भागबन्डा अन्त्य गर्दै पूर्वकर्मचारीहरूको क्लब बन्नबाट रोक्नुपर्ने उनको धारणा छ।
‘जति संवैधानिक निकाय छन्, ती सबै पूर्व कर्मचारीहरूको क्लब वा आयोग बनेका छन्,’ उनले भने।
बैठकमा सिंहले भ्रष्टाचारबाट आर्जित रकम सुनमा लगानी भइरहेको विषयसमेत उठाए। उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि गरिएको जग्गा अधिग्रहणमा ठूलो आर्थिक अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन आवश्यक रहेको बताए।
उनले विमानस्थल निर्माण योजनाको लागतको तुलनामा जग्गा अधिग्रहणमा अत्यधिक रकम खर्च भएको दाबी गरे। उनका अनुसार करिब ७–८ अर्ब रुपैयाँमा बन्ने भनिएको योजनाका लागि जग्गा अधिग्रहणमै २३ अर्ब रुपैयाँ खर्च गरिएको छ।
जग्गा अधिग्रहणका क्रममा वास्तविकता विपरीत बालुवा नभएको ठाउँमा समेत बालुवा रहेको भन्दै मुचुल्का बनाएर भुक्तानी गरिएको आरोप पनि उनले लगाए। नेता तथा उच्च तहका व्यक्तिहरू संलग्न भएको आशंका हुने ठूला भ्रष्टाचारका घटनामा अख्तियारले प्रभावकारी अनुसन्धान नगर्ने तर साना व्यक्तिमाथि मात्रै कारबाही गर्ने प्रवृत्ति देखिएको सिंहको आरोप छ।
‘जहाँ–जहाँ नेता र उच्च तहका व्यक्तिहरू संलग्न हुन्छन्, त्यहाँ अख्तियारले केही नगर्ने, साना मान्छेलाई मात्रै दुःख दिने?’ उनले प्रश्न गरे।
सिंहले कानुनको नजरमा सबै नागरिक समान हुनुपर्ने भन्दै ठूला भ्रष्टाचारका घटनामा समेत अख्तियारले निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।







