सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारको अनुसन्धान जारी, बाँस्कोटासहितको विषय विस्तृत अनुसन्धानमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारको अनुसन्धान जारी, बाँस्कोटासहितको विषय विस्तृत अनुसन्धानमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदसम्बन्धी प्रकरणमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

आयोगका अनुसार तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासमेत आरोपित रहेको भनिएको उक्त प्रकरण अहिले अनुसन्धानकै चरणमा छ। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिदसम्बन्धी विषयमा आयोगले विस्तृत अनुसन्धान गरिरहेको जानकारी दिएका हुन्।

उनका अनुसार सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० वटा निर्देशनमध्ये सेक्युरिटी प्रेस खरिदसम्बन्धी विषयलाई आयोगले अध्ययन तथा अनुसन्धानको प्रक्रियामा अघि बढाएको छ।मैनालीले राज्य व्यवस्था तथा सुशासन समितिका निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित दुई–तीनवटा उजुरीसमेत विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको जानकारी दिए।

त्यस्तै, रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित विषयमा भने अनुसन्धान पूरा भइसकेको र मुद्दा दायर गरिएको उनले बताए। बैठकमा मैनालीले अख्तियारले दायर गरेका भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतबाट हुने फैसलाको अवस्थाबारे पनि जानकारी गराए।

आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य आर्थिक वर्षमा अदालतबाट फैसला भएका मुद्दाहरूमा ७० प्रतिशतभन्दा बढीमा कसुर कायम भएको उनको भनाइ थियो। विशेष अदालतबाट कसुर कायम नभएका अर्थात् सफाइ पाएका मुद्दामा समेत आयोगले आवश्यक ठानेमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्ने गरेको मैनालीले बताए।

सेक्युरिटी प्रेस खरिद प्रकरण लामो समयदेखि सार्वजनिक चासोमा रहँदै आएको विषय हो। उक्त प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको जानकारी दिएसँगै अनुसन्धानको निष्कर्ष र सम्भावित कानुनी प्रक्रियालाई चासोका साथ हेरिएको छ।