नेपालसहित चार मुलुकबीच भन्सार मालवस्तुको पूर्व आगमन सूचना आदानप्रदान गर्ने समझदारी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपालसहित चार दक्षिण एसियाली मुलुकबीच भन्सार मालवस्तुको पूर्व आगमन सूचना आदानप्रदान गर्ने समझदारी भएको छ।
व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। भन्सार विभागका अनुसार दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत सदस्य राष्ट्रहरूबीच यस्तो समझदारी भएको हो।
माल्दिभ्समा आयोजित एसएएसईसीको १४औँ सबग्रुप बैठकका अवसरमा चारै देशका भन्सार प्रशासकले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
समझदारीको मुख्य उद्देश्य एक देशबाट अर्को देशमा आउने मालवस्तुको पूर्व आगमन सूचना सम्बन्धित भन्सार प्रशासनबीच आदानप्रदान गर्नु रहेको विभागले जनाएको छ। यसले मालवस्तु भन्सार कार्यालयमा आइपुग्नुअघि नै उपलब्ध विवरणको विश्लेषण गरी जोखिम पहिचान तथा व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पूर्व आगमन सूचना प्राप्त भएपछि भन्सार प्रशासनले जोखिमयुक्त मालवस्तुलाई प्राथमिकताका आधारमा निगरानी तथा जाँच गर्न सक्नेछ। यसबाट कम जोखिम भएका कारोबारको जाँचपास भने थप छिटो र सहज बनाउन सकिने विभागको भनाइ छ।
भन्सार विभागका अनुसार नयाँ व्यवस्थाले व्यापारिक प्रक्रियामा लाग्ने समय तथा लागत घटाउन सहयोग गर्नेछ। साथै वैदेशिक व्यापारलाई थप सहज, पारदर्शी र पूर्वानुमानयोग्य बनाउन समेत समझदारी महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
यसअघि नेपाल र भारतबीच पनि मालवस्तुको पूर्व आगमन सूचना आदानप्रदानसम्बन्धी समझदारी भइसकेको छ। गत माघको पहिलो साता भारतको नयाँदिल्लीमा नेपाल भन्सार विभाग र भारतीय केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
नेपाल–भारतबीचको समझदारीले दुवै देशका भन्सार प्रशासनबीच सूचना आदानप्रदान तथा समन्वय थप बलियो बनाउने अपेक्षा गरिएको छ। निकासी हुने वस्तुको आगमनपूर्व तथ्यांक उपलब्ध हुँदा जोखिम विश्लेषणमार्फत शंकास्पद वा जोखिमयुक्त वस्तुको निगरानी तथा नियमन गर्न सहज हुने बताइएको छ।
त्यस्तै, सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गर्दै भन्सार जाँचपास छिटो, छरितो र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। व्यापारिक साझेदार मुलुकहरूबीच वस्तु आगमनपूर्व सूचना तथा तथ्यांक आदानप्रदान गरी जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्ने अभ्यास अन्तर्राष्ट्रियस्तरमै प्रचलित छ। नेपालले पनि क्षेत्रीय तथा द्विपक्षीय भन्सार सहकार्य विस्तार गर्दै यस्तो प्रणालीलाई थप प्रभावकारी बनाउने प्रयास अघि बढाएको छ।







