जय नेपाल पार्टीले अघि सार्यो 'संवैधानिक राजसंस्था' र ‘सनातन अधिराज्य’को एजेन्डा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नवगठित जय नेपाल पार्टीले संवैधानिक राजसंस्थासहितको प्रजातान्त्रिक शासन व्यवस्था र हिन्दु, बौद्ध तथा किराँतसहितको ‘सनातन अधिराज्य’ पुनःस्थापनालाई आफ्नो प्रमुख राजनीतिक उद्देश्यका रूपमा अघि सारेको छ ।
निर्वाचन आयोगमा दल दर्तापछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकमा पार्टीका सभापति डा. धवलशम्सेर राणाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा राष्ट्रियता, सनातन सभ्यता र संवैधानिक राजसंस्थालाई पार्टीको राजनीतिक दर्शनका प्रमुख आधारका रूपमा उल्लेख गरिएको छ ।
सभापति राणाले समाजका अगुवाहरूको व्यवहारमै स्वार्थ हावी हुँदा नैतिकता र वचनबद्धता कमजोर बनेको टिप्पणी गरे । उनले राष्ट्रियताको जग बलियो बनाउँदै आर्थिक समुन्नतिको बाटो तय गर्ने जिम्मेवारी जनेपामाथि आएको बताए ।
बैठकमा प्रस्तुत राजनीतिक कार्यपत्रमा जनेपाले शान्तिपूर्ण राजनीतिक गतिविधिमा विश्वास गर्ने प्रजातान्त्रिक पार्टी भएको उल्लेख गरिएको छ । पार्टीले राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान तथा राष्ट्रिय एकताको संरक्षणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।
कार्यपत्रमा ‘नेपाल पहिलो’ भन्ने राष्ट्रिय मान्यता र सनातन सभ्यतालाई राष्ट्रिय गौरवका आधारशिला मानिएको छ । राष्ट्रियता, देशभक्ति, राष्ट्रवाद, प्रजातन्त्र र उदारवादसँगै उत्पादनमुखी प्रतिस्पर्धात्मक मिश्रित अर्थतन्त्रलाई जनकल्याणकारी राज्य, शान्ति र समृद्धिको आधार बनाउने पार्टीको नीति रहेको उल्लेख छ ।
यस्तै जनेपाले विज्ञान, नवप्रवर्तन र प्रविधिको विकाससँगै डिजिटल सुशासन तथा ज्ञानमा आधारित अर्थतन्त्रलाई प्राथमिकता दिने जनाएको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने पार्टीको प्रतिबद्धता छ ।
त्यसैगरी भ्रष्टाचार, दण्डहीनता, गरिबी, विभेद, अपराधीकरण तथा अन्याय न्यूनीकरण गर्दै रोजगारी सिर्जना, आर्थिक स्थायित्व र आत्मनिर्भरतालाई अघि बढाउने उसको नीति छ । जल, जमिन, जंगल र जडीबुटी लगायत प्राकृतिक स्रोतको उपयोगसँगै उद्योग, कृषि र पर्यटनमा लगानी विस्तार गरी आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्ने जनेपाले जनाएको छ ।
पार्टीले निःशुल्क तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य र सीप विकासलाई पनि आफ्नो प्राथमिकतामा राखेको छ । युवालाई शिक्षा, सीप र विकासका अवसर उपलब्ध गराउँदै उनीहरूको नेतृत्व तथा राष्ट्रिय विकासमा अर्थपूर्ण सहभागिता बढाउने प्रतिबद्धता जनाएको छ । महिला सशक्तीकरण, उद्यमशीलता, अनुसन्धान र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने तथा युवालाई आर्थिक गतिविधिमा जोड्ने नीति पनि जनेपाले अघि सारेको छ ।
यसैगरी नेपालको संस्कृति, परम्परा, सनातन सभ्यता, सहिष्णुता, परम्परागत ज्ञान र नैतिक मूल्य–मान्यताको संरक्षण तथा पुस्तान्तरण गर्ने पार्टीको कार्यपत्रमा उल्लेख छ । वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग र जलवायु–उत्तरदायी विकासमार्फत वर्तमान र भावी पुस्ताप्रतिको राष्ट्रिय दायित्व पूरा गर्ने प्रतिबद्धता पनि जनेपाले जनाएको छ ।







