गरिमा चौधरीको हत्याविरुद्ध बारामा आन्दोलन चर्कियो, ग्रामीण सडकसमेत ठप्प

User Image Prime TV News ३ हप्ता अगाडि
Image of गरिमा चौधरीको हत्याविरुद्ध बारामा आन्दोलन चर्कियो, ग्रामीण सडकसमेत ठप्प

बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आन्दोलन चर्किएको छ।

आक्रोशित स्थानीयवासीले बिहीबार उपमहानगरपालिका भित्रका मुख्य तथा ग्रामीण सडकमा टायर बालेर प्रदर्शन गर्दै यातायात ठप्प पारेका छन्। घटनाको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयले बिहीबार शोकसभा आयोजना गरी विद्यालय बन्द गरेका छन्।

शैक्षिक क्षेत्रले बालिकामाथि भएको क्रुर घटनाले आफूहरू स्तब्ध भएको जनाउँदै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ। आन्दोलनरत स्थानीयले बालिका हराएको सूचना समयमै प्रहरीलाई दिइए पनि खोजी कार्यमा गम्भीरता नदेखाएको आरोप लगाएका छन्।

गरिमाका परिवारले समयमै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको भए पनि प्रहरीले प्रभावकारी रूपमा खोजी नगरेका कारण घटना भएको उनीहरूको आरोप छ। प्रहरीको लापरबाही भएको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलीप क्षेत्रीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरूले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा घेराउसमेत गरेका छन्।

आन्दोलनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर र पथलैया–सिमरा सडकखण्डमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। यसअघि बुधबार दिउँसोदेखि बन्द वीरगञ्ज–पथलैया सडकखण्डमा समेत यातायात सञ्चालन हुन सकेको छैन।

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न छलफलको प्रयास भइरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बिहीबार दिउँसो आन्दोलनरत पक्षसँग निर्णायक वार्ता गर्ने तयारी भइरहेको बताए।

प्रजिअ मिश्रका अनुसार घटनामा संलग्न आरोपित पक्राउ परिसकेको छ। प्रहरीको लापरबाहीसम्बन्धी स्थानीयको आरोपबारे प्रशासनले छानबिन तथा प्रमाणीकरण गरिरहेको उनले बताए। बालिकाको हत्या जस्तो गम्भीर घटनामा दोषीलाई कडा कारबाही र प्रहरीको भूमिकामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै स्थानीयको आन्दोलन जारी छ।