भूमिहीन र सुकुम्बासीको अधिकार माग्दै काठमाडौंमा खबरदारी र्‍याली

User Image Prime TV News ३ हप्ता अगाडि
Image of भूमिहीन र सुकुम्बासीको अधिकार माग्दै काठमाडौंमा खबरदारी र्‍याली

काठमाडौ । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा खबरदारी र्‍याली निकालिएको छ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बिहीबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको हो। र्‍यालीमा सहभागीहरूले भूमिहीन तथा सुकुम्बासीको उचित व्यवस्थापन र भूमि अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर’, ‘मानवअधिकारको सम्मान गर’ र ‘सुकुम्बासीको व्यवस्थापन के गरिस् ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

र्‍यालीमा सहभागीहरूले सरकारले बस्ती हटाउने क्रममा डोजर प्रयोग गर्दा विस्थापित भएका नागरिकको जीवन र अधिकारको बेवास्ता गरिएको आरोप लगाए। उनीहरूले जबर्जस्ती विस्थापनका क्रममा ज्यान गुमाएका नागरिकलाई भूमिअधिकार आन्दोलनका शहीद घोषणा गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

आन्दोलनरत पक्षका अनुसार सरकारको ‘डोजर आतंक’ का कारण हालसम्म नौ जना नागरिकले ज्यान गुमाएका छन्। उनीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई विस्थापन गर्नुअघि वैकल्पिक व्यवस्थापनको सुनिश्चितता गर्नुपर्ने बताएका छन्।

सरकारले आफूहरूका मागलाई बेवास्ता गरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत प्रदर्शनकारीहरूले दिएका छन्। उनीहरूले भूमि अधिकारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गर्दै दीर्घकालीन समाधानका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताएका छन्।