गगन थापाको देउवालाई कटाक्ष : ‘पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ’
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई लक्षित गर्दै राजनीतिक नेतृत्वको पदप्रतिको मोहबारे कटाक्ष गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बिहीबार बोल्दै सभापति थापाले पटक पटक उच्च राजनीतिक जिम्मेवारी पाइसकेका नेतासमेत थप पद नपाउँदा असन्तुष्ट हुने गरेको टिप्पणी गरे। उनले भने, ‘पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ। दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ। हामी हेर्यौँ भने मञ्चमा बसेका मान्छे जो जिम्मेवारी पाएका छौँ, हामी पनि असन्तुष्ट हुन्छौँ।’
थापाले नेपाली राजनीतिमा पछिल्लो समय विचार, नीति र जनसेवाभन्दा राजकीय पद प्राप्त गर्ने विषय प्राथमिक बन्न थालेको बताए। राजनीति क्रमशः पद र शक्तिमा केन्द्रित हुँदै गएको भन्दै उनले यस प्रवृत्तिमाथि पुनर्विचार आवश्यक रहेको धारणा राखे।
उनका अनुसार राजनीतिक नेतृत्वले आफूले पाउने पदभन्दा जनताका अपेक्षा र देशका आवश्यकतालाई केन्द्रमा राख्नुपर्छ। जिम्मेवारी प्राप्त गरिसकेका नेताहरूले थप पदका लागि असन्तुष्टि जनाउने प्रवृत्तिले राजनीतिप्रतिको जनविश्वासमा समेत असर पार्न सक्ने उनको भनाइ थियो।
थापाको पछिल्लो अभिव्यक्तिलाई कांग्रेसभित्र नेतृत्व र पदको विषयमा चलिरहेको बहससँग जोडेर हेरिएको छ।







