बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको थियो। सोहीअनुसार थापाले बुधबार तीन दलका ६३ जना प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए।
थापाको नियुक्तिसँगै बागमती प्रदेशमा नयाँ सरकार गठन भएको छ। प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको नियुक्तिसँगै शपथ कार्यक्रमसमेत तय गरेको जनाएको छ। तर, थापालाई मुख्यमन्त्री बनाउन राप्रपाले दिएको समर्थनलाई लिएर विवाद उत्पन्न भएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेशमा नयाँ सरकार गठनका लागि समर्थन जनाए पनि पार्टीको केन्द्रीय नेतृत्वले उक्त निर्णयप्रति असहमति जनाएको थियो।
राप्रपा केन्द्रले प्रदेश संसदीय दलबाट गरिएको समर्थनसम्बन्धी निर्णय पार्टीको आधिकारिक निर्णय नभएको स्पष्ट पार्दै प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको जानकारीसहित बुधबार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो। यसअघि नै पार्टीको निर्देशनविपरीत निर्णय गरेको भन्दै राप्रपाले उद्धव थापालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ।
राप्रपाभित्रको विवादका बीच प्रदेश प्रमुखले भने संवैधानिक व्यवस्थाअनुसार थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। किरण थापा बागमती प्रदेशका सातौं मुख्यमन्त्री बनेका छन्। प्रदेश स्थापना भएयता डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल, बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनिसकेका छन्।
बागमतीमा मुख्यमन्त्री परिवर्तनको क्रमसँगै प्रदेश सरकारको राजनीतिक समीकरणसमेत फेरिएको छ। थापा नेतृत्वको नयाँ सरकारले प्रदेश सभामा कायम समर्थनलाई कसरी स्थिर बनाउँछ र राप्रपाभित्रको विवादले सरकारको बहुमतमा कस्तो प्रभाव पार्छ भन्ने विषय अब मुख्य राजनीतिक चासो बनेको छ।







