राप्रपाले बागमती संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्कासन गर्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्कासन गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै थापामाथि कारबाही गरिएको जानकारी दिएका हुन्। उनका अनुसार थापालाई पार्टीको साधारण सदस्यसँगै प्रदेशसभा सदस्यबाट समेत हटाउने निर्णय गरिएको छ।
बागमती प्रदेशमा नयाँ सरकार गठनका क्रममा थापाले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेपछि राप्रपा केन्द्रले उक्त समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। तर थापाले पार्टीको निर्देशन पालना नगरेपछि कारबाही गरिएको अध्यक्ष लिङदेनले बताएका छन्।
लिङदेनले थापामाथिको कारबाहीबारे स्पष्ट पार्दै भने, ‘उद्वव थापालाई साधारण सदस्य र प्रदेशसभाको सदस्यबाट कारबाही गरिएको छ।’
राप्रपा नेतृत्वले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गर्ने वा सरकारमा सहभागी हुने अन्य नेतामाथि पनि आवश्यक कारबाही गरिने संकेत गरेको छ। अध्यक्ष लिङदेनले पार्टीको निर्णय र निर्देशनविपरीत सरकारमा सहभागी हुने अन्य व्यक्तिका विषयमा समेत आवश्यक निर्णय लिइने बताएका छन्।
थापामाथिको कारबाहीसँगै बागमती प्रदेशमा राप्रपाको संसदीय दलभित्रको विवाद थप गहिरिएको छ। प्रदेश संसदीय दल र पार्टी केन्द्रीय नेतृत्वबीच सरकार गठनका विषयमा देखिएको मतभेदले प्रदेशको राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने देखिएको छ।






