नेप्से ७ अंकले बढ्यो, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेप्से ७ अंकले बढ्यो, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेर बन्द भएको छ।

अघिल्लो दिन बुधबार नेप्से ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा रोकिएको थियो। बिहीबार परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बुधबार करिब ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँ बराबरको कारोबार भएको हो।

यस दिन ३४५ वटा स्क्रिप्सका ९५ लाख ७६६ कित्ता सेयर खरिदबिक्री भए। कारोबारमा आएका कम्पनी तथा म्युचुअल फन्डमध्ये १३२ वटाको मूल्य बढेको छ भने १३२ वटाको मूल्य घटेको छ। १३ वटा स्क्रिप्सको मूल्य भने स्थिर रह्यो।

बिहीबार माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यता कुमारी धनवृद्धि योजनाको मूल्य ९.७७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा एग्रिकल्चर बोण्ड शीर्ष स्थानमा रह्यो। उक्त बोण्डको करिब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

रिलायन्स स्पिनिङ मिल्सको करिब ३० करोड, सोलु हाइड्रोपावरको २२ करोड तथा सहास ऊर्जा र सुपर मादी हाइड्रोपावरको १६/१६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। समूहगत कारोबारतर्फ बिहीबार ६ वटा उपसूचक बढेका छन् भने बाँकी समूहका उपसूचक घटेका छन्। बैंकिङ, हाइड्रोपावर, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानु एन्ड प्रो र ट्रेडिङ समूह सकारात्मक रहे।

परिसूचकमा सामान्य सुधार आए पनि बजारमा बढ्ने र घट्ने कम्पनीको संख्या बराबर देखिएकाले लगानीकर्ताको मनोवृत्ति मिश्रित रहेको संकेत गरेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य बढेकाले बजारमा खरिदबिक्री गतिविधि केही बढेको देखिएको छ।