बागमतीका मुख्यमन्त्री थापाले गरे मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बागमतीका मुख्यमन्त्री थापाले गरे मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त

काठमाडौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री थापाले बिहीबार एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ६ जनालाई मन्त्री नियुक्त गरेका हुन्। नयाँ मन्त्रिपरिषद्मा नेकपा एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञानबहादुर तामाङ बिना विभागीय मन्त्री नियुक्त भएका छन्। केसी यसअघि नेपाली कांग्रेस नेतृत्वको संयुक्त सरकारमा वन तथा वातावरण मन्त्री थिए।

मुख्यमन्त्री थापालाई सरकार गठनका लागि एमाले संसदीय दलभित्र समर्थन जुटाउन महत्वपूर्ण भूमिका खेलेका दोलखाका केसी पुनः मन्त्री बनेका हुन्। एमालेबाट नियुक्त तामाङको जिम्मेवारी भने सत्ता साझेदार नेकपासँग मन्त्रालय भागबण्डा टुंगिएपछि तोकिने मुख्यमन्त्री थापाले बताएका छन्।

सत्ता साझेदार नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। मन्त्रालय भागबण्डामा नेकपाले दुई मन्त्रालय पाउने सहमति भए पनि अर्को मन्त्रालयमा मन्त्री भने पछि नियुक्त गरिने भएको छ। त्यस्तै, राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन्।

बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय छन्। पछिल्लो मन्त्रिपरिषद् विस्तारसँगै अब कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी रहेको छ।

सत्ता साझेदार तीन दलबीच मन्त्रालय बाँडफाँटको सहमति पूरा भएसँगै बाँकी मन्त्रालयमा समेत नियुक्ति गरिने मुख्यमन्त्री थापा पक्षले जनाएको छ। नयाँ सरकार गठनसँगै बागमतीमा एमाले, नेकपा र राप्रपाबीचको सत्ता सहकार्यले औपचारिक आकार लिएको छ।