संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ मात्र पर्याप्त हुँदैन : रवि लामिछाने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ मात्र पर्याप्त हुँदैन : रवि लामिछाने

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुग्दैमा प्रक्रिया पूरा नहुने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले संविधान संशोधनको विषयमा कानुनी तथा संवैधानिक प्रक्रियाका सबै पक्षलाई समान रूपमा ध्यान दिनुपर्ने बताएका हुन्।

संविधान संशोधनका लागि आवश्यक संख्या पुर्‍याउन सरकारलाई सहयोग गर्ने विभिन्न राजनीतिक दलका अभिव्यक्तिको स्वागत गर्दै लामिछानेले संशोधन प्रक्रिया अघि बढाउँदा भावनाभन्दा संविधान र कानुनमा आधारित प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले प्रतिनिधि सभामा दुई तिहाइ संख्या जुट्नु संशोधन प्रक्रियाको एउटा महत्वपूर्ण पक्ष भए पनि त्यही मात्र अन्तिम आधार नभएको स्पष्ट पारे। ‘संविधान संशोधनका लागि प्रतिनिधि सभामा मात्र दुई तिहाइ संख्या पुग्नु पर्याप्त हुँदैन,’ लामिछानेले भने, ‘संविधान र कानुनी व्यवस्थाअनुसार आवश्यक सबै प्रक्रिया र पक्षलाई ध्यान दिनुपर्छ।’

संविधान संशोधन संवेदनशील विषय भएकाले हतारमा राजनीतिक सहमतिको आधारमा मात्र अघि बढ्न नहुने उनको भनाइ थियो। संविधानमा तोकिएका प्रावधान तथा संशोधनसँग सम्बन्धित कानुनी प्रक्रियाको पूर्ण पालना गरेर अघि बढ्नुपर्ने उनले बताए।

सरकारलाई सहयोग गर्ने तत्परता देखाएका राजनीतिक दलहरूप्रति आभार व्यक्त गर्दै लामिछानेले संविधान संशोधनको विषयमा व्यापक छलफल र संवैधानिक प्रक्रियालाई केन्द्रमा राख्नुपर्ने धारणा राखे। उनले संविधान संशोधनजस्तो महत्वपूर्ण विषयमा राजनीतिक भावनाभन्दा कानुनी स्पष्टता र संवैधानिक व्यवस्थाको पालना प्रमुख हुने बताए।