प्रधानमन्त्री कार्यालयमा बोलाइएको विषयमा अख्तियार प्रमुख राईको स्पष्टीकरण
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्री कार्यालयमा आफूहरूलाई बोलाइएको विषयमा स्पष्टीकरण दिएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै राईले पासपोर्ट प्रकरणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बताएका हुन्।
प्रधानमन्त्रीले कुनै विषयमा छलफल तथा सुझाव लिन अख्तियारका पदाधिकारीलाई बोलाउन सक्ने भन्दै राईले आफूहरू प्रधानमन्त्रीको बोलावटपछि प्रधानमन्त्री कार्यालय गएको स्पष्ट पारे। ‘छलफल गर्न बोलाउन सकिन्छ। उहाँले बोलाएपछि हामी गयौँ, छलफल गर्यौँ। सुझाव लिन बोलाउन सकिन्छ,’ राईले भने।
पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा छलफल भएपछि अख्तियारले मुद्दा दर्ता गरिसकेको उनले जानकारी दिए। मुद्दासम्बन्धी अभियोजनपत्र अख्तियारको वेबसाइटमा उपलब्ध रहेको भन्दै उनले अनुसन्धानमा देखिएका कैफियत र आधार अभियोजनपत्रबाटै स्पष्ट हुने बताए।
‘मुद्दा दर्ता भइसकेको छ। अभियोजन वेबसाइटमै पाइन्छ। अभियोजनमा हामीले त्यो ठिक थियो कि थिएन, कैफियत कति छ भन्ने कुरा अभियोजनपत्रमै हेर्न सकिन्छ,’ राईले भने।
उनले अख्तियारले पर्याप्त आधार र कैफियत नदेखी मुद्दा अघि नबढाउने दाबीसमेत गरे। पासपोर्ट प्रकरणमा अख्तियारले गरेको अनुसन्धान र अभियोजनको विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले सम्बन्धित विवरण अध्ययन गरेर निष्कर्ष निकाल्न आग्रह गरे।
राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको समेत बताए। सरकारमा रहेका सबै निकाय र पदाधिकारीले ऐन, नियम, कानुन तथा स्थापित विधि र प्रक्रियाअनुसार काम गरे भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारको हस्तक्षेप आवश्यक नपर्ने उनको भनाइ थियो।
उनका अनुसार शासन सञ्चालनमा कानुन र विधिको पूर्ण पालना भएमा भ्रष्टाचारका घटना न्यूनीकरण गर्न सकिन्छ र अख्तियारको भूमिका पनि स्वतः कम हुँदै जान्छ।







