राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ।
पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार महामन्त्री विपीनकुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बोलाएका हुन्।
आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूची तय गरिएको छ। बैठकको मुख्य कार्यसूचीमा आगामी स्थानीय तह निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने विषय रहेको छ।
निर्वाचनमा उम्मेदवार छनोट गर्दा अपनाइने विधि र प्रक्रियालाई बैठकमार्फत अन्तिम रूप दिने तयारी रास्वपाको छ। त्यस्तै, पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ अर्थात् जनप्रतिनिधिलाई पदबाट फिर्ता बोलाउन पाउने अधिकार सम्बन्धी दस्तावेज निर्माण गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ।
यसलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा राजनीतिक खाका तयार पार्ने पार्टीको योजना छ। बैठकले पार्टीमा रिक्त रहेका तथा थप गर्नुपर्ने विभिन्न संगठनात्मक पदमा मनोनयन गर्ने विषयमा समेत निर्णय गर्नेछ।
जसमा केन्द्रीय समिति सदस्य तथा पदाधिकारीको मनोनयन, सचिवालय सदस्यको मनोनयन, विभिन्न विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँट, स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा सदस्य मनोनयनलगायत विषय छन्।
स्थानीय तहमा उम्मेदवार छनोटको विधिबारे कार्यकर्तालाई स्पष्ट पार्न केन्द्रीय सदस्य र सांसदको नेतृत्वमा देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि बैठकमा पेस हुनेछ।
त्यस्तै, पार्टीको आधिकारिक धारणा र गतिविधि सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा समेत बैठकले निर्णय गर्ने बताइएको छ।







