टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अस्ट्रेलियामा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ।
नेपालले आयोजक नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र एनटी स्ट्राइकबीचको खेल दिउँसो सवा २ बजे सुरु हुनेछ।
नेपाल यसपटक नेपाल ‘ए’ टोलीका रूपमा मैदानमा उत्रँदैछ भने टोलीको कप्तानी अनिल शाहले गर्नेछन्। एनटी स्ट्राइकको कप्तानी डार्सी शर्टले गर्नेछन्।
एनटी स्ट्राइकको टोलीमा अस्ट्रेलियाका अनुभवी खेलाडी डार्सी शर्टसँगै बिग बास लिगका खेलाडी जोर्डन सिल्क, टम मेन्जिज र वेस एगरलगायत छन्। गत संस्करणमा खेलेकामध्ये डार्सी शर्ट, क्याडेल म्याकमहोन, हामिस मार्टिन, जोर्डन सिल्क, म्याट ह्यामन्ड र टम मेन्जिज यसपटक पनि टोलीमा छन्।
नेपालले गत संस्करणमा पनि एनटी स्ट्राइकसँग खेलेको थियो। उक्त खेलमा नेपाल ४२ रनले पराजित भएको थियो। नेपाल लगातार दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागी हुन लागेको हो।
गत संस्करणबाट प्रतियोगितामा सहभागिता जनाएको नेपालले यसपटक नेपाल ‘ए’ टोली पठाएको हो। प्रतियोगितामा नेपालले विभिन्न ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
एनटी स्ट्राइकसँगै बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियाविरुद्धको खेलले नेपाली खेलाडीलाई फरक शैली र स्तरका टोलीविरुद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
नेपालको खेल तालिका:
अगस्ट २१ — एनटी स्ट्राइकविरुद्ध नेपाल
अगस्ट २२ — नेपालविरुद्ध बंगलादेश हाई–परफर्मेन्स
अगस्ट २४ — नेपालविरुद्ध होबार्ट हरिकेन्स
अगस्ट २६ — नेपालविरुद्ध एसीटी कमेट्स
अगस्ट २७ — नेपालविरुद्ध किङ्समेन
अगस्ट २९ — नेपालविरुद्ध भिक्टोरिया
नेपालको टोली:
अनिल शाह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल।







