झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो, मृतक संख्या ६ पुग्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो, मृतक संख्या ६ पुग्यो

झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ।

पछिल्लो पटक मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई संक्रमणबाट मृत्यु भएपछि जिल्लामा यस रोगबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। स्वास्थ्य कार्यालयका अनुसार जेई संक्रमण मेचीनगर, हल्दिबारी, बाह्रदशी, कचनकवल, बिर्तामोड र अर्जुनधारालगायतका क्षेत्रमा देखिएको छ।

यसअघि जिल्लामा १० जना संक्रमित हुँदा पाँच जनाको मृत्यु भएकोमा पछिल्लो घटनासँगै संक्रमित र मृतक दुवैको संख्या बढेको हो। वर्षायाममा लामखुट्टेको प्रजनन बढ्ने भएकाले जेई संक्रमणको जोखिमसमेत बढ्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

जेई संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। विशेषगरी पानी जम्ने क्षेत्र, धानखेत तथा सुँगुर र हाँस पालिने क्षेत्र आसपास संक्रमणको जोखिम बढी हुने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

संक्रमण बढ्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणको दायरा बढाएको छ। साथै, संक्रमणको अवस्था बुझ्न तथा रोकथामका उपाय प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको टोलीलाई विभिन्न क्षेत्रमा परिचालन गरिएको छ।

झापामा जेईको अवस्था र जोखिमका सम्भावित कारण अध्ययन गर्न स्वास्थ्यसम्बन्धी टोलीसमेत परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्यकर्मीहरूले वर्षायाममा घर वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न र जेईविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। देशभर पनि यस वर्ष जेई संक्रमण बढ्दो क्रममा रहेको स्वास्थ्यसम्बन्धी तथ्यांकले देखाएको छ।