आन्तरिक मतभेद संवादबाट समाधान गर्न कांग्रेस महामन्त्री पौडेलको अपिल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of आन्तरिक मतभेद संवादबाट समाधान गर्न कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई राजनीतिक संवादमार्फत समाधान गर्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

शुक्रबार अपिल जारी गर्दै पौडेलले पार्टीका आन्तरिक विवाद सडकमा लैजाने वा अदालतमा पुर्‍याउने प्रवृत्तिले लोकतन्त्रसँगै पार्टी संगठनलाई समेत कमजोर बनाउने बताएका छन्। उनले असन्तुष्ट पक्षहरूलाई आफ्ना फरक धारणा लिएर पार्टीको केन्द्रीय कार्यालय सानेपा आउन र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।

पौडेलले पछिल्लो समय कांग्रेसका कतिपय आन्तरिक विषय कानुनी विवादमा प्रवेश गरेकोतर्फ संकेत गर्दै राजनीतिक समस्याको समाधान राजनीतिक संवादबाटै खोजिनुपर्ने धारणा राखेका छन्। उनले पार्टीभित्रको विमतिलाई सडक वा अदालतमा लैजानुभन्दा आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

महामन्त्री पौडेलले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति समेत चिन्ता व्यक्त गरेका छन्। उनले प्रचण्ड बहुमतको सरकार भए पनि सत्तामा रहेकाहरूको गतिविधिले देशलाई थप अनिश्चयतर्फ लैजाने जोखिम रहेको बताएका छन्। सरकारलाई प्रभावकारी खबरदारी आवश्यक रहेको उनको भनाइ छ।

पार्टीको आगामी १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै पौडेलले नेतृत्व चयनको लोकतान्त्रिक प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन्। बीपी कोइरालाको विचार तथा अग्रज नेताहरूको त्याग र योगदानलाई स्मरण गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको समृद्धिका लागि कांग्रेस एकताबद्ध हुनुपर्ने धारणा राखेका छन्।

गत भदौ २३ र २४ गतेका घटनाक्रम तथा त्यसपछि विकसित राजनीतिक परिस्थितिले मुलुक कठिन मोडमा पुगेको उल्लेख गर्दै पौडेलले कांग्रेस कमजोर हुँदा लोकतन्त्रसमेत संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।

उनले पार्टीभित्रका सबै मतभेदलाई थाँती राखेर कांग्रेसको मूल प्रवाहमा एकताबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। देशलाई सही नेतृत्व दिन कांग्रेसका नेता–कार्यकर्ता झगडामा अल्झिने वा रमिते बनेर बस्ने अवस्था नरहेको उनको भनाइ छ।