गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ।
अधिकारकर्मी तथा मृतकका आफन्तले काठमाडौंमा प्रदर्शन गर्दै गरिमाका लागि न्याय मागेका हुन्। प्रदर्शनकारीले ‘गरिमालाई न्याय दे’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। गरिमाका परिवारले यसअघि पनि बारामा न्यायको माग गर्दै प्रदर्शन गर्दै आएका छन्।
उनका आमाबुबासहित आफन्त सडकमा धर्नामा बसेपछि वीरगञ्ज–पथलैया सडकखण्ड लगातार तेस्रो दिन पनि प्रभावित भएको छ। बिहीबार राति प्रशासनले स्थानीय व्यक्तिहरूसँग सहमति गरेको थियो। तर, उक्त सहमति मृतक परिवारको अनुमति र सहभागिताबिना गरिएको भन्दै परिवारले सहमति स्वीकार नगर्ने जनाएको छ।
मृतकका बाबु मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं घटनास्थलमा आएर परिवारसँग छलफल गर्नुपर्ने माग गरेका छन्। साथै, नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने उनको माग छ।
परिवार तथा अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।







