रास्वपा केन्द्रीय समिति बैठक आज, प्रधानमन्त्री शाह मुस्ताङ तिर
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ।
पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने बैठकमा दर्जनभन्दा बढी विषयमा छलफल हुने कार्यसूची रहेको छ। तर, बैठककै दिन प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भने मुस्ताङतर्फ प्रस्थान गरेका छन्। उनी शुक्रबार बिहान सडकमार्ग हुँदै पोखरा भएर मुस्ताङतर्फ लागेका हुन्।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे सुरक्षा निकायका अधिकारीसमेत अनभिज्ञ देखिएका छन्। प्रधानमन्त्रीको सचिवालयले भ्रमणको पुष्टि गरे पनि भ्रमणको उद्देश्यबारे जानकारी दिन अस्वीकार गरेको छ। सचिवालयका एक सदस्यका अनुसार भ्रमणबारे जानकारी भए पनि उद्देश्य खुलाउने निर्देशन नभएको बताइएको छ।
यसअघि पनि शाह रास्वपाका केन्द्रीय समिति तथा अन्य पार्टी बैठकमा नियमित रूपमा सहभागी नहुने गरेको बताइँदै आएको छ। यसैबीच, रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार आजको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्ने विषय प्रमुख एजेन्डामा रहेको छ। बैठकमा ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्ताबेज निर्माण तथा सांगठनिक व्यवस्थापन र मनोनयनका विषयमा छलफल हुनेछ।
बैठकमा केन्द्रीय समिति सदस्य तथा पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन र विभिन्न विभागका प्रमुख मनोनयन गर्ने विषय पनि छलफलको कार्यसूचीमा छन्। त्यस्तै, आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयनसम्बन्धी विषयमा समेत बैठकमा निर्णय हुने बताइएको छ।







