संविधान र संघीयताको पक्षमा राष्ट्रिय प्रतिबद्धता आवश्यक : युवराज दुलाल
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पक्षमा सबै राजनीतिक दलबीच राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको बताएको छ।
नेकपाका संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित सबै दलले व्यवस्थालाई सुदृढ गर्ने विषयमा साझा धारणा बनाउनुपर्ने बताएका हुन्। शुक्रबार आयोजित ‘संघीयता : संविधान संशोधन र कार्यविस्तृतीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दुलालले संविधान र संघीय व्यवस्थाप्रति दलहरूको स्पष्ट प्रतिबद्धता नहुँदा संविधान संशोधनको बहस नै अन्योलपूर्ण बनेको बताए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति जनताको विश्वास बलियो बनाउन र दलहरू जनताको अवस्था परिवर्तनका लागि काम गरिरहेका छन् भन्ने सन्देश दिन राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको धारणा राखे।
दुलालले संघीयतापछि तीनै तहका सरकारबीच कामको बाँडफाँटअनुसार विकासका गतिविधि अघि बढेको दाबी गरे। उनका अनुसार संघ ठूला आयोजना तथा राष्ट्रिय महत्वका काममा, प्रदेश मझौला परियोजनामा र स्थानीय तह स्थानीय आवश्यकता तथा विशिष्टतामा आधारित विकासमा केन्द्रित हुनुपर्ने हो।
संघीयतापछि प्रदेश र स्थानीय तहका कामकारबाहीलाई लिएर उठाइने कतिपय नकारात्मक टिप्पणी वास्तविकतामा आधारित नरहेको उनको भनाइ थियो। यद्यपि तीनै तहमा देखिएका विकृति र विसंगति सुधार गर्नुपर्ने उनले स्वीकार गरे।
दुलालले संविधानका मूलभूत विषय नै परिवर्तन गर्ने बहसले मुलुकलाई फेरि अर्को संविधानको खोजीतर्फ लैजान सक्ने भन्दै यसबारे राजनीतिक दलहरू स्पष्ट हुनुपर्ने बताए।







