१८ करोड ऋणभार र राज्यको बेवास्तापछि धुर्मुस फेरि अमेरिका प्रस्थान

User Image Prime TV News ३ हप्ता अगाडि
Image of १८ करोड ऋणभार र राज्यको बेवास्तापछि धुर्मुस फेरि अमेरिका प्रस्थान

काठमाडौ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा सिर्जित १८ करोड ४३ लाख रुपैयाँको ऋण दायित्व र राज्य संयन्त्रको उदासीनताप्रति असन्तुष्टि जनाउँदै हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फेरि अमेरिका प्रस्थान गरेका छन्।

दुई महिनाअघि राज्यबाट न्याय पाउने र आफ्नै देशमा बसेर काम गर्ने आशासहित छोरी लिएर नेपाल फर्किएका कट्टेल अन्ततः निराश हुँदै विदेशिएका हुन्। अमेरिका प्रस्थान गर्नुअघि उनले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गर्दै रंगशाला निर्माणसँग जोडिएको आफ्नो पीडा, अधुरा सपना र ऋणको भारीबारे बताएका छन्।

कट्टेलले आफूले दुई महिनासम्म राज्यका विभिन्न निकाय धाएर समस्या समाधानका लागि पहल गरे पनि अपेक्षित सुनुवाइ नभएको गुनासो गरेका छन्। आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भएको अनुभूति भएको उनले बताएका छन्।

उनका अनुसार रंगशालाको ऋण दायित्व फर्स्योटका लागि संघीय सरकारले निकासा गर्ने भनिएको १५ करोड रुपैयाँसमेत भरतपुर महानगरपालिकाको नीतिगत तथा कानुनी जटिलताका कारण रोकिएको छ। समस्या समाधान हुनुको सट्टा उक्त बजेटसमेत फ्रिज हुने अवस्था आएको उनको दाबी छ।

कट्टेलले १८ करोड ४३ लाख रुपैयाँको ऋण, अधुरा सपना र मनभरिको पीडा बोकेर मातृभूमिबाट पुनः बाहिरिन बाध्य भएको बताएका छन् ।