दुर्गा प्रसाईको घरबाट बरामद मोबाइल र ल्यापटप फरेन्सिक जाँचमा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको घरबाट प्रहरीले नियन्त्रणमा लिएका मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय उपकरण फरेन्सिक जाँचका लागि पठाइएको छ।
बिहीबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्रहरीले ६ वटा मोबाइल फोन, एउटा ल्यापटप र सिसिटिभी रेकर्डर नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले अनुसन्धानका क्रममा ती उपकरण नियन्त्रणमा लिएर फरेन्सिक परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जानकारी दिए।
उनका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरमा विचाराधीन मुद्दाको अनुसन्धानका क्रममा उपकरणहरू नियन्त्रणमा लिइएका हुन्। तर, कुन कसुरसँग सम्बन्धित अनुसन्धान हो भन्ने विषयमा भने उनले थप जानकारी दिएनन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीले पनि अनुसन्धानका लागि मोबाइललगायत सामग्री नियन्त्रणमा लिइएको पुष्टि गरे। यद्यपि, अनुसन्धान कुन कसुरमा केन्द्रित छ भन्नेबारे उनले खुलाउन चाहेनन्।
कार्कीले खानतलासीका क्रममा प्राप्त सामग्रीबाट थप कुनै विषय देखिएमा त्यसअनुसार नयाँ कोणबाट समेत अनुसन्धान अघि बढ्न सक्ने बताए। अनुसन्धान पूरा भएपछि मात्रै थप विवरण सार्वजनिक हुन सक्ने प्रहरीको भनाइ छ।
प्रसाई यसअघि पनि विभिन्न घटनामा प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ। पछिल्लो खानतलासी र विद्युतीय उपकरण नियन्त्रणमा लिइएको घटनाले उनीमाथि भइरहेको अनुसन्धान थप गहिरिएको संकेत गरेको छ।







