शंखमुलको होस्टलमा झगडा हुँदा युवकको मृत्यु

User Image Prime TV News ३ हप्ता अगाडि
Image of शंखमुलको होस्टलमा झगडा हुँदा युवकको मृत्यु

काठमाडौ । काठमाडौको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङ घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्। काठमाडौं महानगरपालिका–१० स्थित उक्त होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि धारिलो हतियार प्रहार गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ। घटनाको कारण तथा घटनाक्रमबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। होस्टलभित्रै धारिलो हतियार प्रहार गरी युवकको मृत्यु भएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।