प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजीः प्रधानमन्त्री कार्यालय

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजीः प्रधानमन्त्री कार्यालय

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी रहेको स्पष्ट पारेको छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे प्रश्न गरेपछि कार्यालयका प्रवक्ता हेमराज अर्यालले उक्त भ्रमण निजी भएको जानकारी दिएका हुन्।

प्रवक्ता अर्यालले प्रधानमन्त्रीको भ्रमण सरकारी कार्यक्रमअन्तर्गत नभएको स्पष्ट पार्दै थप जानकारी आवश्यक भए प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्क गर्न सकिने बताए। उनले भने, “सम्माननीयको यो भ्रमण निजी हो। अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ।”

प्रधानमन्त्री शाह शुक्रबार बिहान सडकमार्ग हुँदै पोखरा भएर मुस्ताङतर्फ प्रस्थान गरेका थिए। भ्रमणको उद्देश्यबारे प्रधानमन्त्रीको सचिवालयले समेत विस्तृत जानकारी सार्वजनिक गरेको छैन। यसअघि प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे सुरक्षा अधिकारीसमेत अनभिज्ञ रहेको बताइएको थियो।

प्रधानमन्त्रीको निजी भ्रमण भएको सरकारी स्पष्टीकरणसँगै भ्रमणको औपचारिक प्रकृतिबारे देखिएको अन्योल भने हटेको छ।