देउवा र शेखर कोइरालाबीच भेटवार्ता, कांग्रेस एकताबारे छलफल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of देउवा र शेखर कोइरालाबीच भेटवार्ता, कांग्रेस एकताबारे छलफल

काठमाडौ । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाले पूर्वसभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

कोइराला देउवा निवासमै पुगेर भेट गरेका हुन्। कोइरालाका सचिवालय सदस्य दिनेशचन्द्र थपलियाका अनुसार भेटमा कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद तथा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा छलफल भएको थियो।

थपलियाका अनुसार भेटमा दुवै नेता पार्टीभित्रको विवाद समाधान गर्दै एकता कायम गर्ने पक्षमा सकारात्मक देखिएका छन्। पूर्वसभापति देउवाले पनि पार्टीको आन्तरिक विवाद समाधान गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने विषयमा सकारात्मक धारणा राखेको उनले बताए।

यद्यपि, दुई नेताबीचको भेट मात्रले पार्टीभित्रको विवाद समाधान नहुने थपलियाको भनाइ छ। पार्टी एकताका लागि वर्तमान सभापति गगन थापाले सक्रिय पहल गर्नुपर्ने उनको धारणा छ। “दुवै नेता पार्टी मिलाउने पक्षमा हुनुहुन्छ। तर, मिल्ने–मिलाउने उहाँहरूको हातमा छैन। बल त सभापति गगन थापाको हातमा छ। उहाँले पहल गर्नुपर्‍यो,” थपलियाले बताए।

कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच पछिल्लो समय आन्तरिक विवाद चर्किरहेका बेला कोइराला र देउवाबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।