१५औँ महाधिवेशन प्रक्रिया रोक्न देउवा समूह सर्वोच्चमा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट सर्वोच्च अदालतमा दर्ता गरिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिएका छन्। दुवै नेताका तर्फबाट कानून व्यवसायीले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्।
देउवा पक्षले कांग्रेसले असोजमा महाधिवेशन गर्ने गरी अघि बढाएको कार्यतालिका तत्काल रोक्न माग गरेको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि निस्सा प्रदान गरिसकेको अवस्थामा उक्त मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको तर्क छ।
कांग्रेसले यसअघि असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर, पार्टीभित्रको संस्थापनइतर समूहले छुट्टै राष्ट्रिय भेला गर्दै सभापति गगन थापाको नेतृत्व अस्वीकार गर्ने निर्णय गरेको थियो।
उक्त भेलाले पूर्वसभापति देउवाकै नेतृत्वमा महाधिवेशनमा अघि बढ्ने निर्णय गरेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। महाधिवेशनको कार्यतालिका, नेतृत्वको वैधानिकता तथा पार्टीभित्रको आधिकारिकताको विवाद अदालतसम्म पुगेपछि कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै हुने वा थप अन्योलमा पर्ने भन्ने विषयमा राजनीतिक चासो बढेको छ।







