सर्वोच्चको आदेशपछि इमरान खान उपचारका लागि अस्पताल भर्ना
Prime TV News ३ हप्ता अगाडि khan_pakisthan.png)
काठमाडौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशपछि उपचारका लागि जेलबाट अस्पताल सारिएको छ।
तीन वर्षभन्दा बढी समयदेखि जेलमा रहेका खानलाई बिहीबार इस्लामाबादस्थित शिफा अस्पतालमा भर्ना गरिएको उनको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले जनाएको छ। ७३ वर्षीय खानको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै उनका कानुन व्यवसायीहरूले लामो समयदेखि उपचारका लागि अस्पताल सार्न माग गर्दै आएका थिए।
उनीहरूले खानको दाहिने आँखाको दृष्टि गुमेको दाबीसमेत गरेका छन्। सरकारले भने यसअघि सार्वजनिक भएका मेडिकल रिपोर्टमा तत्काल अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था नदेखिएको बताउँदै आएको थियो। तर, सर्वोच्च अदालतले मंगलबार खानलाई अर्को सुनुवाइ नहुँदासम्म अस्पतालमै राखेर उपचार गराउन आदेश दिएको थियो। उक्त मुद्दामा अर्को सुनुवाइ सेप्टेम्बर १६ मा हुने तय भएको छ।
खान सन् २०२३ देखि जेलमा छन्। उनीमाथि प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा बेलायतको नेसनल क्राइम एजेन्सीले फिर्ता पठाएको करिब १९ करोड पाउन्ड रकम हस्तान्तरणमा सहजीकरण गरेबापत एक व्यावसायिक घरानाबाट जमिन लिएको आरोपमा जेल सजाय भोगिरहेका छन्।
यसैगरी, प्रधानमन्त्री पदमा रहँदा प्राप्त डिजाइनर गहना सेट र घडीसहितका सरकारी उपहारको मूल्य कम आँकेर खरिद गरेको आरोपमा पनि उनलाई १७ वर्षको जेल सजाय सुनाइएको छ। खानले आफूविरुद्ध लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन्। उनका समर्थकहरूले भने उनीविरुद्धका मुद्दा राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै आएका छन्।







