सभापतिको नेमप्लेट र लेटरप्याड अनधिकृत प्रयोग भएको कांग्रेसको भनाइ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले सभापतिको नेमप्लेट तथा पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग भएको भन्दै आपत्ति जनाएको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले संस्थापनइतर समूहका गतिविधिमाथि ध्यानाकर्षण भएको जनाएको हो। अनुशासन समितिका संयोजक तारामान गुरुङका अनुसार संस्थापनइतर समूहले सञ्चालन गरेको कार्यालयमा पार्टी सभापतिको नेमप्लेट राखिएको तथा पार्टीको लेटरप्याडसमेत अनधिकृत रूपमा प्रयोग गरिएको पाइएको छ।
यस विषयमा समितिले आवश्यक रेकर्ड तथा प्रमाण संकलन गरिरहेको उनले बताए। पार्टीका नेता तथा कार्यकर्तालाई आँच पुग्ने गरी गलत आरोप तथा आपत्तिजनक शब्द प्रयोग गरिएको विषयमा समेत अनुशासन समितिले विवरण संकलन गरिरहेको गुरुङले जानकारी दिए।
यसैबीच, निर्वाचनका क्रममा भएका भनिएका अनुशासनहीन गतिविधिसम्बन्धी समितिमा प्राप्त ७५४ वटा निवेदनमाथि अनुसन्धान जारी रहेको उनले बताए। पार्टीको महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले वडा अधिवेशन सुरु हुनुअघि नै ती निवेदनबारे आवश्यक निर्णय गरिने उनको भनाइ छ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अघि बढाएको पनि संयोजक गुरुङले जानकारी दिए। पार्टीभित्र संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्किरहेका बेला अनुशासन समितिले संस्थापनइतर समूहका गतिविधिमाथि प्रश्न उठाएको हो।
नेमप्लेट तथा लेटरप्याडको प्रयोगलाई लिएर देखिएको विवादले कांग्रेसभित्रको आन्तरिक मतभेद थप सतहमा ल्याएको छ।







