रास्वपाले रिक्त पदाधिकारी मनोनयन गर्‍यो, प्रवक्तामा जगदीश खरेल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपाले रिक्त पदाधिकारी मनोनयन गर्‍यो, प्रवक्तामा जगदीश खरेल

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले रिक्त रहेका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारीमा मनोनयन गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता, कोषाध्यक्ष सहितका पदमा नयाँ जिम्मेवारी तोकेको हो। बैठकले जगदीश खरेललाई प्रवक्ता र डा. मनोहर प्रधानलाई कोषाध्यक्ष मनोनयन गरेको छ। त्यस्तै, बसुमाया तामाङलाई सहकोषाध्यक्ष, पुरुषोत्तम यादवलाई सहमहामन्त्री तथा ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ता बनाइएको छ।

यसैगरी, संगठन विभाग प्रमुखको जिम्मेवारी प्रमोद न्यौपानेलाई दिइएको छ। रास्वपाले विभिन्न पदमा जिम्मेवारी बाँडफाँट गरे पनि पार्टीमा अझै केही पद रिक्त रहेका छन्। एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पदमा भने मनोनयन हुन बाँकी रहेको छ।

पार्टीको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यले रिक्त पदहरूमा जिम्मेवारी बाँडफाँट गरिएको रास्वपाले जनाएको छ।

यस्तै बैठकले केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत भएका छन् । सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनीत गरेको हो । केन्द्रीय सदस्य मनोनीत हुने अन्य नेताहरूमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई छन् ।